विधियुक्त र रोजगारमुखी शिक्षामा मेरिल्याण्डको जोड, ७८३ विद्यार्थीलाई अभिमुखिकरण
विराटनगर — विराटनगरस्थित रंगेली रोडमा सञ्चालित मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि बिहीबार भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले यस शैक्षिक सत्रमा नयाँ भर्ना भएका ७८३ जना विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक भविष्य र कलेजको वातावरणबारे जानकारी गराएको हो ।
विराटनगरमा आयोजित विशेष समारोहका बीच कलेजले कक्षा ११ मा भर्ना भएका पाँच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा तल्हा खा, सुरज कुमार यादव, प्रेना प्रियम मेहता, सुदिक्षा झा र धैर्य जैन रहेका छन् । उनीहरूलाई कार्यक्रमका विशेष अतिथि एवं चर्चित हास्यकलाकार मनोज गजुरेलले दोसल्ला ओढाएर कदर पत्रसहित सम्मान गरे । सो अवसरमा कलाकार गजुरेलले आफ्नो प्रहसन र उत्प्रेरणामूलक प्रस्तुतिमार्फत विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद ढुंगेलले बदलिँदो समयअनुसारको शिक्षामा जोड दिए । “अहिलेको शिक्षा प्रविधियुक्त हुनुपर्छ,” ढुंगेलले भने, “विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई बजारमा बिक्ने र रोजगारमुखी शिक्षा दिएर अगाडि बढाउनु आजको आवश्यकता हो ।”
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्डले सधैं गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको र त्यसकै जगमा कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कलेजले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निर्देशक भेषराज पोखरेलले गरेका थिए । औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू दिएर समारोहलाई थप उत्साहजनक बनाएका थिए ।
© 2020. All Rights Reserved. Merryland College, Biratnagar. | Design and develop by InDesign Media Pvt Ltd