वित्तीय साक्षरता र बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा आयोजित प्रतियोगिताहरूमा विराटनगरको मेरिल्याण्ड कलेज उत्कृष्ट सावित भएको छ ।
प्राधिकरणको कोशी प्रदेश कार्यालयले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराईको टोली प्रथम हुँदै नगद २० हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो ।
त्यसैगरी, शिक्षादीप कलेजका केशव झा, विशेष पौडेल र अलिसा सापकोटाको टोली द्वितीय हुँदै १५ हजार तथा पोखरिया माविका कृष खतिवडा, अनुकुल आचार्य र प्रज्वल आचार्यको टोली तृतीय हुँदै १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।
प्रीति देवको अध्यक्षता र मनोज तिवारीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा विराट कलेज, सिटी कलेज र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
डा अच्युतराज कट्टेल, डा चन्द्र उपाध्याय तिम्सिना, सचिन राई, मनोज तिवारी लगायतको उपसमितिले हाजिरीजवाफ गराएको थियो ।
यसैगरी, सोही कार्यालयको आयोजनामा भएको ‘युवा र बीमा साक्षरता : आर्थिक सुरक्षाको आधार’ विषयक प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा पनि मेरिल्याण्ड कलेजका रजिनश न्यौपाने प्रथम हुँदै १५ हजार रुपैयाँबाट पुरस्कृत भए ।
सोही प्रतियोगितामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका दिपेन्द्र यादव द्वितीय हुँदै १० हजार तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आयाम कट्टेल तृतीय हुँदै ५ हजार रुपैयाँले पुरस्कृत भए ।
बीमा सम्बन्धी ज्ञान, चेतना र वित्तीय साक्षरता अभिवृद्धिका लागि यी कार्यक्रमहरू कोशेढुङ्गा सावित भएको नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जनाएको छ ।
स्नातक तह अध्ययनरत कोशी प्रदेशका विद्यार्थीबीच निवन्ध प्रतियोगिता गरिएको थियो ।
© 2020. All Rights Reserved. Merryland College, Biratnagar. | Design and develop by InDesign Media Pvt Ltd